वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड प्रभावित , बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड प्रभावित , बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक


काठमाडौँ ।  देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको  विवरण अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने अधिकांश स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेका छन्।

उदयपुरस्थित कटारी नगरपालिका–१४, दलदलेमा असार २६ गते आएको बाढीका कारण सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै काभ्रेपलाञ्चोक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा साँझ ५स्०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

विभिन्न स्थानमा पहिरो र बाढीका बाबजुद पनि सुरक्षा निकायको समन्वयमा केही राजमार्गहरू एकतर्फी रूपमा सुचारु गरिएका छन् ।  ललितपुरको बागमती गाउँपालिका–३ छपेलीस्थित कान्तिलोकपथ असार २५ गतेदेखि एकतर्फी सञ्चालनमा छ। तनहुँको आँबुखैरेनी–४ डम्पिङस्थित पृथ्वी राजमार्ग पनि एकतर्फी सुचारु छ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित सडक खण्डहरू पनि एकतर्फी मात्र खुलेका छन्। भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग र संखुवासभाको मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्गमा पनि एकतर्फी सवारी आवागमन भइरहेको छ।