साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई
काठमाडौं । दुई वर्षअघि, ५ मार्च २०२४ को दिन त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको लिग २ शृंखलापछि भएको टी–२०आई शृंखलाको फाइनल खेल थियो ।अन्तिम ओभरसम्म पुगेको उक्त खेलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको थियो । करण केसीको बलमा डिप ब्याकवार्ड स्क्वायर लेगमा टिम भान डेर गुग्टेनले चौका प्रहार गर्दै नेदरल्यान्ड्सलाई खेल जिताएका थिए ।
नेपाली समर्थक निराश पक्कै थिए, तर उनीहरूलाई थाहा थिएन कि यो प्रतिक्षा यति लामो हुनेछ । त्यसयता पृथ्वीले सूर्यलाई दुईपटक परिक्रमा गरिसक्यो, त्रिवि क्रिकेट मैदानको स्वरुप नै परिवर्तन भइसकेको छ ।
दुई वर्षपछि, भोलि नेपाली क्रिकेट टोलीले अन्ततः घरेलु मैदानमा फेरि पाइला टेक्दै छ, जहाँ घरेलु दर्शकको हुटिङले पुनः कीर्तिपुर गुञ्जायमान हुनेछ ।
यसबीचमा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणदेखि दोस्रो संस्करणसम्म, अनि महिला टी–२० विश्वकप ग्लोबल छनोट पनि यो मैदानमा आयोजना भइसकेको छ ।
थर्ड पोल 