सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ

सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार वर्णवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वर्णवालले आफू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै भन्सार छली तथा चोरी–तस्करीका सामान सजिलै पास गराइदिने आश्वासन दिने गरेका थिए ।

सामान पास गराउन रकम नदिए पक्राउ गराइदिने धम्की दिँदै रकम असुल्ने तथा बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । वर्णवाललाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट पक्राउ गरेको र उनीमाथि कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।