अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका तेल र एआई केन्द्रमा हमला गर्ने इरानको चेतावनी

अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका तेल र एआई केन्द्रमा हमला गर्ने इरानको चेतावनी

इरानले अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका सात वटासम्म देशमा रहेका तेल प्रशोधन केन्द्र, समुद्रमुनिका सञ्चार केबल, डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा हमला गर्ने चेतावनी दिएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले यस्तो चेतावनी दिएको द गार्डियनले जनाएको छ।

इरान र अमेरिका बीचको द्वन्द्व अन्त्य गर्न वार्ता गरेका कट्टरपन्थी नेता मोहम्मद गालिबाफका सल्लाहकार मेहदी मोहम्मदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सैद्धान्तिक रूपमा इरानमाथि आक्रमण गर्न सहमत भएको दाबी गरेका छन्। तर, उनीहरूले आक्रमण सफल हुने सुनिश्चितता गर्न नसक्ने उनको भनाइ छ।

मोहम्मदीले आगामी द्वन्द्वलाई इरानले आफ्नो अस्तित्वमाथिको खतरा मानेको बताए।

उनले भने, ‘दुई वर्षभित्र तेस्रो युद्ध हुनु भनेको अस्तित्व माथिको खतरा हो। हाम्रो रणनीति अब कुनै पनि सीमारेखा नराख्ने हो।’

उनले द्वन्द्वको समय र भौगोलिक सीमालाई फराकिलो बनाउने चेतावनी दिँदै भने, ‘युद्ध शत्रुले अनुमान गरेभन्दा लामो समयसम्म चल्नेछ र यसको भौगोलिक दायरा पनि उसले सोचेभन्दा व्यापक हुनेछ।’