बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

 रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौंस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो । बाढीका क्रममा सर्वसाधारणका महत्त्वपूर्ण कागजात तथा नागरिकतासमेत हराएका वा नष्ट भएका थिए ।

नागरिकता नहुँदा राहत, पुन:स्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले काठमाडौँमा रहेका सम्बन्धित होल्डिङ सेन्टरहरूमा पुगेर प्रत्यक्ष सेवा दिन थालिएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय तथा गोसाइँकुण्ड गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए ।

नागरिकहरूलाई सहज सेवा दिन होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपिको आवेदन फाराम सङ्कलन गर्ने, जिल्ला प्रशासन कार्यालय रसुवामा ल्याएर प्रमाणीकरण गर्ने, नागरिकता प्रिन्ट गर्ने र पुन: होल्डिङ सेन्टरमै लगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष तामाङले बताए ।