दक्षिणी गाजामा इजरायली ट्याङ्कको गोलाबारीः २६ जनाको मृत्यु
काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्र नजिकै इजरायली ट्याङ्कको गोलाबारीमा २६ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्।
रफाहका स्थानीय पत्रकार मोहम्मद गरिबले बीबीसीलाई बताएअनुसार हजारौं प्यालेस्टिनीहरू अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्र नजिकै भेला भएका थिए। त्यसपछि इजरायली ट्याङ्कले भीडमाथि गोली चलाएको हो।
आक्रमणपछि उद्धार टोलीहरू घटनास्थलमा पुग्न नसकेपछि धेरै घाइते र मृतकहरूलाई गधा गाडामा राखेर अल–मावासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको थियो। घटनाबारे टिप्पणीको लागि बीबीसीले इजरायल रक्षा बल (आईडीएफ) लाई सम्पर्क गरेको छ।
मोहम्मद गरिबले स्थानीय समय अनुसार बिहान ४ः३० बजे गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित राहत केन्द्र नजिकै रहेको अल–आलम स्क्वायर नजिकै भीड जम्मा भएको बताए। त्यसपछि इजरायली ट्याङ्कहरू त्यहाँ पुगे र गोलीबारी गर्न थाले।
थर्ड पोल 