पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध छैन : रघुविर महासेठ

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध छैन : रघुविर महासेठ

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको नेकपा एमालेका सचिव रघुविर महासेठले दाबी गरेका छन् । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए ।

आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपति बिच कुनै अन्तरविरोध छैन ।’

भण्डारीले सक्रिय राजनीतिमा आउने कुरा गरेको तर कसरी अघि बढ्ने भन्ने केही कुरा नगरेको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनु हुन्छ ।’

संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिहरुलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले विद्या भण्डारी पनि राजनीतिमा फर्किन सक्ने महासेठको भनाइ छ । राजनीतिमा आउने नआउने भन्ने कुरा पूर्वराष्ट्रपति भण्डारीको व्यक्तिगत विषय भएको उनले बताए । अब राजनीति गर्छु भनेर भण्डारीले पार्टी सदस्यता रिन्यू गर्नु गरेको तर उनले पार्टीभित्र अन्तरविरोध बढाउने काम नगरेको उनले बताए । पार्टीका केही नेताहरुले मात्र अन्तरविरोध बढाउने काम गरेको र विद्या भण्डारीलाई पनि विवादमा ल्याएको महासेठले बताए ।