'राजसंस्थाको पुनर्स्थापनाको माग गर्ने आन्दोलन-एक मागी खाने भाँडो मात्र'

'राजसंस्थाको पुनर्स्थापनाको माग गर्ने आन्दोलन-एक मागी खाने भाँडो मात्र'

 काठमाडौं । पछिल्ला केही महिनादेखि राजसंस्थाको नाममा गरिएको आन्दोलनले गणतन्त्र र वर्तमान राजनीतिक व्यवस्थाप्रति जनमानसमा प्रश्न उठाउन त सफल भयो, तर आन्दोलनको अन्तरवस्तु, नेतृत्वको हानथाप स्वभाव र रणनीतिले यसको वास्तविक उद्देश्य उजागर गरेको छ । यो आन्दोलन जनमुखी भएन, न त राष्ट्रहितप्रति इमानदार।बरु, यो आन्दोलन राजसंस्थाको आवरणमा लुकेको स्वार्थी राजनीति र व्यक्तिगत सत्ता लिप्साको मागी खाने भाँडो सावित भयो । सौदेबाजीको दुहुनो गाई र जनतालाई झुक्याउने राजनीतिक यन्त्र।

जनताको असन्तोषको दोहन, समाधानको नाटक मन्चन 
१६ वर्षको गणतान्त्रिक यात्राले नेपाली जनतालाई गम्भीर निराशा दिएको सत्य हो । बेरोजगारी, भ्रष्टाचार, अराजकता र सुशासनको अभावले आम जनजीवन कष्टकर बनिरहेको छ।तर यस असन्तोषलाई समाधान गर्ने नाममा भएको आन्दोलनले जनभावनाको प्रतिनिधित्व गर्नुको सट्टा पुराना राजनीतिक ढोंगी अवसरवादीहरूको स्वार्थ खेल मात्र दोहोर्यायो।

नवराज सुवेदी, कमल थापा, राजेन्द्र लिङ्देन र केशर विष्ट जस्ता नामहरू पुरानै गुटबन्दी, भागबण्डा, र सत्ता सेटिङमा केन्द्रित देखिए। आन्दोलनको उद्देश्यभन्दा आफ्नो प्रभाव, शक्ति र सौदाबाजीको शक्ति विस्तार प्रमुख एजेन्डा बन्यो लिङ्देन अझै एमालेसँगको साँठगाँठ, सेटिङमा सत्ता बार्गेनिङमा छन भन्ने कुरा प्रमाणित हुदै।

‘गुरु–चेला’को राजनीतिक प्रहसनस् कमल थापा र लिङ्देनको दोहोरो चरित्र
कमल थापा, जो कुनै समय राजा ज्ञानेन्द्रविरुद्ध मुखर थिए, गणतन्त्रको पक्षमा बोलेका थिए, एमालेबाट सूर्य चिन्ह लिएर चुनाव लडेका थिए ।आज जब पराजित भए, पुनः राजसंस्थाको समर्थनमा फर्किए। यता, राजेन्द्र लिङ्देन पनि एमालेसँगको साँठगाँठमार्फत सेटिङमै चुनाव जिते, अनि देखावटी बिरोध गरेर जनतालाई झुक्याउने नौटङ्की गर्दैछन्।

‘उपत्यका बन्द’को घोषणा गर्ने, अर्को दिन आफैँ त्यसको खण्डन गर्ने लिङ्देनको नेतृत्व शैली न त परिपक्व छ, न जिम्मेवार। कसको निर्देशनमा यस्तो आन्दोलन चलाइएको हो? जनताले अब जवाफ खोज्न थालेका छन्।

यी गुरु–चेलाको गठबन्धनमा आधारित आन्दोलन न विचारमा स्थिर, न आचरणमा विश्वसनीय। यी नेताहरूको भ्रमपूर्ण, अवसरवादी र अविश्वसनीय कार्यशैलीले आन्दोलन मात्र होइन, जनताको आशा–विश्वास पनि तहसनहस गर्‍यो।

नेतृत्वहीनता, अपारदर्शिता र आन्दोलनको विसर्जन
जब आन्दोलनकै समितिका सदस्यहरू कार्यक्रममा भाग लिन सन्देश सामाजिक सञ्जालबाट मात्र थाहा पाउँछन्, त्यो अवस्था लज्जास्पद मात्र होइन, आन्दोलनको विफलताकै प्रमाण हो।स्वेच्छाचारी निर्णय, योजनाविहीन कार्यान्वयन र नेताहरूको असंवेदनशीलताले युवाहरू हतोत्साहित भए, जनता आक्रोशित भए, र आन्दोलनप्रति वितृष्णा उत्पन्न भयो।

‘निर्णायक आन्दोलन’ भनी गरिएको जम्मा पाँच दिने कार्यक्रमको परिणाम हात लाग्यो शून्य बराबर, अन्ततः लिङ्देनले आफैँ घोषणा गरे “उपयुक्त समयमा फेरि सुरु गर्छौं”आन्दोलनकारीहरू आक्रोशित छन्के– यही हो निर्णायक आन्दोलन कतैबाट परिचालित वा सेटिङमा त हैन ?

‘राजसंस्था’ नामको राजनीतिक सफ्टवेयर–प्रयोग जनताको, फाइदा अवसरबादी स्वार्थी नेताको !

पछिल्लो आन्दोलनले एक कुरामा स्पष्टता ल्यायो–राजसंस्थाको पुनर्स्थापनाको नाममा गरिने आन्दोलन अब विचार होइन, एउटा राजनीतिक सफ्टवेयर हो। नेताहरू यसलाई आफ्ना करिअर बचाउन, भागबण्डा पाउन र सौदेबाजी गर्न प्रयोग गर्छन्।जनताको भावना, राष्ट्रप्रेम र युवाको जोशलाई राजावादी आवरणमा दोहन गरिन्छ।तर स्वार्थले जन्माएको आन्दोलनमा न विचार हुन्छ, न भिजन। परिणामतः त्यसको न गन्तव्य हुन्छ, न भविष्य नै।

अब समय आएको छ–स्वार्थी नेतृत्वको ढोंग चिर्ने :
राजसंस्थाको नाममा हुने यस्ता आन्दोलनहरू अब न आन्दोलन रहे, न अभियान–यी त मागी खाने भाँडो हुन् भन्ने प्रमाणित भइसकेको छ।यस्ता ढोंगी, पाखण्डी र अवसरवादी नेताहरूको प्रयोगशालामा फेरि जनता बलिको बोको बन्नु हुँदैन। अबको नेतृत्व शुद्ध विचार, स्पष्ट दृष्टिकोण र इमानदार राष्ट्रनिर्माणको प्रतिबद्धताबाट आउनु पर्दछ, पुराना सेटिङवादी, सौदाबाजी र भ्रम बेच्ने ढोंगी नेता नेतृत्वबाट होइन ।