सहकारी पिडीतहरुको समस्या समाधान नभए टुलुटुलु हेरेर नबस्ने सर्वेन्द्र खनालको चेतावनी
पूर्व आईजीपी तथा सामाजिक अगुवा सर्वेन्द्र खनालले सहकारी क्षेत्रमा बढ्दो ठगी, वित्तीय अपराध, र जनताको पीडाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।
काठमाडौं – पुर्व प्रहरी महानिरीक्षक (आईजीपी) तथा सामाजिक अगुवा सर्वेन्द्र खनालले सहकारी क्षेत्रमा देखिएको अव्यवस्था, वित्तीय अपराध र आम जनताको पीडाको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सहकारी ठगी, मिटरब्याज, र कमजोर सरकारी निगरानीको चपेटामा परेका सर्वसाधारणको हकमा कडा आवाज उठाउँदै सरकारले तत्काल कदम नचाले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए।
खनालले सहकारी क्षेत्रमा देखिएको ठगी र अव्यवस्थाको आलोचना गर्दै यसले आम नागरिकको जीवनमा गम्भीर असर पारेको बताए। उनले वित्तीय अपराध नियन्त्रणमा राज्यको भूमिका कमजोर रहेको भन्दै, सामान्य नागरिकले रातदिनको मेहनतले बचत गरेको रकम केही ठगहरूले हडप्ने अवस्था सह्य नहुने बताए।
आर्थिक अभावका कारण बालबालिकाहरूले उपचार नपाएर ज्यान गुमाउनु परेको उल्लेख गर्दै खनालले अत्यन्तै भावुक दृश्यको वर्णन गरे। ‘‘जसले छाक काटेर बचत गरेका थिए, उनीहरू यी वित्तिय अपराधीहरुका कारण कारण सडकमा छन्,’’ उनले भने, ‘‘यो निकै पीडादायी र लज्जास्पद अवस्था हो।’’
खनालले सरकारलाई स्पष्ट चेतावनी दिँदै, यदि अब पनि सरकारले गम्भीरता नदेखाए, आफूसहित नागरिक समाज चुप लागेर नबस्ने बताए। उनले मिटरब्याजपीडित, सहकारी पीडितलगायत वित्तीय अपराधका शिकार सर्वसाधारणका हकमा दृढतापूर्वक लडिरहने प्रतिबद्धता व्यक्त गरे।
खनालले नेपालको शासन प्रणाली जनताको सेवामा केन्द्रित हुनुपर्ने भन्दै देश ठगहरूको नभई, जनताको भएको दोहोर्याए। ‘‘देश ठगहरूको होइन, आम जनताको हो। आम जनताले शान्ति र सुविधाका साथ वाच्न पाउनुपर्छ,’’ खनालले भने।
थर्ड पोल 