आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा हुन्छ : श्रममन्त्री भण्डारी

आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा हुन्छ : श्रममन्त्री भण्डारी


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने बताएका छन् । बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरुको छलफलमा उनले आन्तरिक रोजगार सिर्जना गर्दै स्वरोजगारको निर्भरतालाई घटाउँदै लानको लागि श्रम रोजगार सम्मेलन गर्न लागेको बताए ।

उनले भने, ‘आगामी फागुनमा श्रम रोजगार सम्मेलन गर्दैछौ । त्यो सम्मेलनमा वर्तमान सरकारले एउटा नीति दिएको छ । त्यही आधारमा आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने, त्यसकै आधारमा आन्तरिक रोजगार सिर्जना गर्ने लक्ष्य छ ।साथै अन्तिममा स्वरोजगारको निर्भरतालाई घटाउदैँ लिएर जाने भन्ने नीति अनुसार आन्तरिक रोजगार महाशाखा बनाएका छौ ।’

यसको साथै, उनले श्रम मन्त्रालयवैदेशिक रोजगार हेर्न मात्र मन्त्रालय हो भन्ने मान्यता बसेको भन्दै यो मान्यता हटाउनको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गरेको बताए ।

उनले भने, ‘रोजगारीको कुरा उठ्ने वित्तिकै वैदेशिक रोजगारीको बारेमा नै छलफल गर्छौ । मन्त्रालयको काम नै वैदेशिक रोजगारी हेर्ने होकि जस्तो भयो । त्यसकारण मन्त्रालयको संरचना नै परिवर्तन गरेका छौं । पहिला के थियो भने वैदेशिक रोजगार संघ सम्बन्धी वैदेशिक रोजगार महाशाखा, विभाग, बोर्ड थियो। यस्तो हुँदा खाली वैदेशिक रोजगार हेर्न मात्र मन्त्रालय हो भन्ने मान्यता बसेको थियो । अहिले हामीले आन्तरिक रोजगार महाशाखा स्थापना गर्यौ । अब मन्त्रालयमा वैदेशिक रोजगार महाशाखा, आन्तरिक रोजगार महाशाखा स्थापना भएको छ । आन्तरिक रोजगार महाशाखाले देशभित्रको रोजगारीको सम्भावना हेर्छ ।’