आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार गरियो : जगदिश खरेल

आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार गरियो : जगदिश खरेल


काठमाडौँ । आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै पूर्वसञ्चारमन्त्री समेत रहेका रास्वपा सांसद जगदिश खरेलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको जिकिर गरेका छन् ।

सञ्चारमन्त्री हुँदा उनले स्मार्ट टेलिकमको अर्बौं रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएको थियो । तर, उनले आफूले उक्त गल्ती नगरेको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।

‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ,’ सांसद खरेलले भनेका छन् ।सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री रहेका खरेल हाल रास्वपाका सांसद छन् । उनी ललितपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

उनले आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार भएको भन्दै चरित्र र राजनीतिक भविष्यमाथि प्रहार नगर्न आग्रह गरेका छन् ।साथै, आफूले कानुनी उपचार खोज्ने पनि उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।