आरजु राणाले निर्वाचन आयोगलाई लगाइन् यस्तो आरोप
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निर्वाचन आयोगले संविधानलाई कुल्चिएको आरोप लगाएकी छिन् । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्ष मध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दर्ता गराउँदा महिलालाई नै उम्मेद्वार बनाउनु पर्ने बाध्यकारी व्यवस्था नगरेकोमा असन्तुष्टि जनाउँदै उनले आयोगले संविधान कुल्चिएको आरोप लगाएकी हुन् ।
नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा. देउवाले आग्रह गरेकी हुन्।निर्वाचन आयोगले यही चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन लैंगिक समावेशी बनाउने सन्दर्भमा दिएको निर्देशनमा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिन राजनीतिक दलले उम्मेदवार मनोनयनमा महिलालाई प्राथमिकता दिने व्यवस्था गरेको थियो। तर‚ यो निर्देशनको व्यवस्था नेपालको संविधानको धारा ३८(४) विपरीत रहेको भन्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. देउवाले यस्तो प्रावधान सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेकी हुन्।
नेपालको संविधान २०७२ को धारा, ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ। निर्वाचन आयोगको यो पछिल्लो निर्देशनले संविधानको भावनाको प्रतिनिधित्व नगर्ने भन्दै यो निर्देशिकालाई सच्याई समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारीको व्यवस्था गर्न डा. देउवाले निर्वाचन आयोगलाई अपिल गरेकी हुन्।
डा. देउवाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेपालको संविधानको धारा, ३८(४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु।’
