इजरायलद्वारा गाजा क्षेत्रमा फेरि हमला सुरुः ३४ जनाको मृत्यु, ७० घाइते

इजरायलद्वारा गाजा क्षेत्रमा फेरि हमला सुरुः ३४ जनाको मृत्यु, ७० घाइते

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ ।  इजरायली सेनाले गाजा पट्टीमा आक्रमण गरेका हुन् । जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो। सेनाले विज्ञप्ति जारी गर्दै हमासको ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरेर हमला थालिएको जानकारी दिएको हो।

गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको जनाएको छ।इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।

‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताले गरेका प्रस्ताव अस्वीकार गरेपछि यो आक्रमण भएको हो’, विज्ञप्तिमा भनिएको छ।