इनिसा विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन

इनिसा विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन

वीरेन्द्रनगर नगरपालिका—४ को जनजागरण सामुदायिक वनमा मृत्यु भएकी १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्षधरहरूले आन्दोलन गरेका छन् ।
बुधबार वीरेन्द्रनगरमा ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’ जस्ता नारासहित उनीहरुले दबाबमूलक आन्दोलन गरेका हुन् । यद्यपि,प्रहरीले घटनामा संलग्न चार जना नाबालक किशोरहरूलाई यस अघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीय इनिसा शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
तर बिहान ९ बजेतिर वीरेन्द्रनगर बजारको उत्तरतर्फ गर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे ।

सोही दिन प्रहरीले १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो । पीडित पक्षले फागुन २४ गते दिएको उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।