रेणु दाहालका बागी कांग्रेस नेता पौडेलले लिएनन् उम्मेदवारी फिर्ता, पार्टीबाट स्वतः निष्काशित
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समयभित्र आफूले उम्मेदवारी फिर्ता नलिएका पौडेलले बताए। आयोगले शुक्रबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको थियो।
उनलाई उम्मेदवारी फिर्ताका लागि पार्टीका शीर्ष नेतृत्वले दबाब मात्रै दिएनन् राष्ट्रियसभा सदस्य बनाउने प्रलोभन पनि दिए। तर कांग्रेस जोगाउनका लागि आफ्नो उम्मेदवारी हो भन्दै आएका पौडेल आफ्नो अडानमा अविचलित रहे। उनलाई मनाउन भरतपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँण असफल भएर फर्किए।
उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने सबैलाई उनले आफू अघि बढिसकेको भन्दै पछाडि फर्किन नसक्ने जवाफ दिए। पाँच दलीय गठबन्धनले गरेको भागवण्डामा भरतपुर महानगरको प्रमुख यसपटक पनि माओवादी केन्द्रलाई दिएपछि चितवनका कांग्रेस नेता(कार्यकर्ता असन्तुष्ट छन्। यसैलाई सम्बोधन गर्न उम्मेदवारी दिएका पौडेल गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालका निम्ति ठूलो चुनौतीका रुपमा हेरिएको छ।
