च्यासल सर्यो एमालेको केन्द्रीय कार्यालय
प्रमुख प्रतिपक्षी नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय ललितपुरको च्यासलबाट सञ्चालनमा आएको छ। थापाथली हाइटबाट एमालेको केन्द्रीय कार्यालय शुक्रबारदेखि औपचारिकरुपमा च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सरेको हो।
थापाथली हाइटस्थित कार्यालय एमाले नेता मोतीलाल दुगडले भाडामा मिलाइदिएका थिए। तर अब एमालेको नयाँ कार्यालय आफ्नै भवनमा सञ्चालन हुन लागेको हो। एमालेले कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसर पारेर पार्टी कार्यालय च्यासलमा सारेको हो।
च्यासलमा पार्टी कार्यालय सरेपछि त्यहाँ एमालेले पहिलो दिन विभिन्न कार्यक्रम गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा पार्टी कार्यालयको विधिवत सुरुवात गरेका छन्। नयाँ पार्टी कार्यालयमै कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले १७ जना ज्येष्ठ कम्युनिष्ट नेताहरुलाई सम्मान गर्दैछ।
एमालेले शुक्रबारै आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रतिवद्धता पत्र पनि च्यासलस्थित नयाँ पार्टी कार्यालयबाटै सार्वजनिक गर्दैछ। च्यासलमै पूर्वराजदूत लक्की शेर्पासहित एमालेमा प्रवेश गर्दैछन्।
