कजाकस्तान विमान दुर्घटनाः ३८ मृत्यु, राष्ट्रिय शोकको घोषणा
काठमाडौं । कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् ।
बुधबार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित जे२–८२४३ उडान नम्बरको एम्ब्राएर १९० विमान बाकुबाट ग्रोज्नी जाँदै गर्दा कजाकस्तानको अक्ताउ विमानस्थल नजिक दुर्घटनाग्रस्त भएपछि उपप्रधानमन्त्री बोजुम्बायेभले यस्तो बताएका हुन । कजाखस्तानको आपतकालीन स्थिति मन्त्रालयका अनुसार विमानमा ६७ जना सवार भएकोमा ३८ जनाको ज्यान गएको छ ।
दुर्घटनापछि कजाकस्तान र अजरबैजान दुवै देशले उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय समिति गठन गरेको घोषणा गरेका छन् । यद्यपी, हालसम्म दुवै देशका सरकारहरूले यो घटनाको कारण तत्काल निर्धारण गर्न नसकिने बताएका छन् ।
बोजुम्बायेभले एक अन्तर–विभागीय अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन् । उनका अनुसार आपराधिक अनुसन्धान र पहिचान विशेषज्ञहरू तथा नागरिक उड्डयन व्यवस्थापनका विशेषज्ञहरू अक्ताउमा थप अनुसन्धानका लागि पुगिसकेका छन् ।
थर्ड पोल 