कोलकातामा दुर्गा पूजामा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, सात पक्राउ

कोलकातामा दुर्गा पूजामा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, सात पक्राउ

भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित चोरबागान दुर्गा पूजामा शनिबार साँझ भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।

पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीले घटनाबारे जानकारी दिँदै कलकत्ता उच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरी छानबिन गरिने बताएका छन्।

शनिबार साँझ करिब ७:३० बजे उत्तर कोलकाताको लोकप्रिय दुर्गा पूजा स्थल चोरबागानमा भागदौड भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

दुर्गा पूजाको सातौं दिन सप्तमीका अवसरमा साँघुरो गल्लीबाट भीड अघि बढ्ने क्रममा घटना भएको हो। भारी वर्षाका कारण सडक चिप्लो बनेको थियो।

हावडा पुलबाट दुई किलोमिटरभन्दा कम दूरीमा रहेको चोरबागान कोलकाताका पुराना दुर्गा पूजा पण्डालमध्ये एक हो। प्रत्यक्षदर्शीका अनुसार वर्षाबाट ओत लाग्न खोज्दै मानिसहरू साँघुरो गल्ली हुँदै पूजा स्थलतर्फ ओइरिएका थिए। त्यसक्रममा केही मानिस चिप्लिएर लडेपछि उनीहरूमाथि अरू मानिस खस्दा भागदौड मच्चिएको थियो।