भारतको बिहारमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु

भारतको बिहारमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु

भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ । मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका र किशोरी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भोजमा सहभागी हुन जाँदै गरेका १५ देखि २५ जनासम्म सवार रहेको सानो डुङ्गा नदीमा पल्टिएको बताइएको छ । दुर्घटनापछि उद्धार तथा खोजी कार्य गरिएको जनाइएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

यसैगरी, बिहार सरकारले पनि दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने जनाएको छ ।