गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै इजरायली सुरक्षा क्याबिनेट

 गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै इजरायली सुरक्षा क्याबिनेट


काठमाडौं ।  गाजामाथि अमेरिकी नियन्त्रण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरेबियाको भ्रमण सुरु गरेसँगै इजरायलको सुरक्षा क्याबिनेटले सोमबार हमाससँगको युद्धविरामको अर्को चरणबारे छलफल गर्न तयारी गरेको छ ।

इजरायलबाट रियाद पुग्नुभएका रुबियोले ट्रम्पको विदेशमन्त्रीका रूपमा आफ्नो पहिलो मध्यपूर्व भ्रमण सुरु गरेका हुन

“हमास सैन्य वा सरकारी शक्तिको रूपमा जारी रहन सक्दैन… उनीहरूलाई समाप्त पार्नुपर्छ”, प्यालेस्टिनी इस्लामवादी समूहबारे रुबियोले इजरायलमा भने । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणले गाजालाई तहसनहस पार्ने १५ महिने युद्ध सुरु गरेको थियो ।

उनको छेउमा उभिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुई मित्रराष्ट्रको ‘एउटा साझा रणनीति’ छ र गाजामा उग्रवादीहरूले बन्धक बनाएका सबैलाई मुक्त नगरिए ‘नरकको ढोका खोलिनेछ’ भने ।

हमासले तीन सय ६९ प्यालेस्टिनी कैदीको बदलामा तीन इजरायली बन्धकलाई रिहा गरेको एक दिनपछि यी टिप्पणी आएका हुन् । यो कतार र इजिप्टको सहयोगमा अमेरिकाले मध्यस्थता गरेको युद्धविराम सम्झौताअन्तर्गत छैटौँ आदानप्रदान थियो ।

इजरायल र हमासले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । भग्नावशेषले भरिएको गाजामाथि नियन्त्रण लिने र यसका २० लाखभन्दा बढी बासिन्दालाई गाजाबाट बाहिर सार्ने ट्रम्पको व्यापक रूपमा निन्दा गरिएको प्रस्तावले यो थप तनावग्रस्त बनेको छ ।

“हामीले गाजाको भविष्यका लागि ट्रम्पको साहसी दृष्टिकोणबारे छलफल गर्‍यौँ र त्यो दृष्टिकोणलाई वास्तविकता बनाउन सुनिश्चित गर्न काम गर्नेछौँ”, नेतन्याहुले भने ।

नेतन्याहुले वासिङ्टन भ्रमण गर्दा यस महिनाको सुरुमा ट्रम्पले रेखाङ्कित गरेको योजनामा विवरणहरू थिएनन् तर उनले यसले गाजावासीहरूलाई जोर्डन वा इजिप्टमा सार्ने काम समावेश गर्ने बताए।