सत्ता गठबन्धनले रामचन्द्र पौडेलको नेतृत्वमा बनायो चुनावी तयारी तथा अनुगमन समिति

सत्ता गठबन्धनले रामचन्द्र पौडेलको नेतृत्वमा बनायो चुनावी तयारी तथा अनुगमन समिति

बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले स्थानीय चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको गठबन्धनको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी तथा अनुगमनका लागि पौडेलको संयोजकत्वमा गठन गर्ने निर्णय भएको हो।

आज बिहान ९ बजेदेखि बालुवाटारमा सत्तागठबन्धनको बैठक बसेको थियो।बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए।

आजको बैठकले वैशाखमा हुने स्थानीय चुनावका लागि तयारी तथा तालमेलको अनुगमन गर्ने समिति गठन गरेको छ। बैठकमा सहभागी रहेका पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको हो।

समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन्। यस्तै माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल सदस्य छन्। जसपाबाट अशोक राई र रेणु यादव सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन्। साथै बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे समीक्षा भएको थियो। समग्रमा भारत भ्रमण सफल भएको निष्कर्ष निकालिएको बैठकमा सहभागी एक नेताले बताए।