घर निर्माणका लागि भूकम्पपीडितलाई- दोस्रो किस्ता हस्तान्तरण गर्ने,

1. घर निर्माणका लागि भूकम्पपीडितलाई- दोस्रो किस्ता हस्तान्तरण गर्ने,

बाजुरा: बाजुरा जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिए ।

 उनका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ । जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ्क अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उनले बताए ।उनले त्रिवेणी नगरपालिकामा रु २८ लाख २५ हजार, बूढीगङ्गा गाउँपालिकालाई रु ८६ लाख र बूढीनन्दा नगरपालिकालाई रु १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो । 

साथै गौमूल गाउँपालिकामा रु १३ लाख ७५ हजार, खप्तड छेडेदहमा रु दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई रु दुई लाख २५ हजार गरी कूल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ । मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उनले बताए । 

मनसुनजन्य विपद्बाट बूढीगङ्गा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।