चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित
1.
प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति प्राप्त गरेका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।
उनले उक्त समारोहमा सम्बोधन गर्दै नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिए। पदोन्नति गरी राज्यले अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसर दिएकोले प्रहरी अधिकृतहरूले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गर्ने अवसरको रूपमा लिने विश्वास उनले व्यक्त गरे। उनले भने, 'सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन् । तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनन्दिन कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु ।'
प्रहरी संगठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक, निष्ठा र कर्तव्य वोध गरी कर्तव्य निर्वाह गर्न जरूरी रहेको उनको भनाई छ।
थर्ड पोल 