छुट्टाछुट्टै सवारी दुर्घटना, ९ जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो । प्रहरीका कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बसपार्कमा बा.२ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौं सुन्दरीजल बस्ने २५ वर्षीय सरोज बिकको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू भगवानपाउस्थित जंगलमा हाल नाम, थर नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै,मकवानपुर, बकैया गाउँपालिका–२ सरस्वती सामुदायिक वन वतासेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । थप घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन, कालिका नगरपालिका–१ लङकालाईनमा भरतपुरबाट खालेसिमलतर्फ जाँदै गरेको बा.११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ बस्ने २७ वर्षीय विष्णु क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरीकै चितवन, भरतपुर महानगरपालिका–५ बिकास चोकमा ना.६ ख ७९५४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–५ बिकास चोक बस्ने २३ वर्षीया अमृता मिश्रको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, बलवा नगरपालिका–११ रातो खोल पुलमा प्रदेश २–०२–००४ प ३५४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका–११ रौजा बस्ने १८ वर्षीय तमन्ना कवारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सर्लाही, ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवार साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
थर्ड पोल 