पत्नी माइत बसेको झोंकमा पतीले छिनाले खुट्टा

पत्नी माइत बसेको झोंकमा पतीले छिनाले खुट्टा

पत्नी माइत गएको झोँकमा शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरका अन्दाजी ४२ वर्षका गणेश लुहारले आफ्नै खुट्टा छिनाले (काटे) का छन्। इलाका प्रहरी कार्यालय झलारीका अनुसार छिमेकीको नल्का (ट्युबवेल) मा लुहारले आफैंले बञ्चरो हानेर आफ्नो खुट्टामा काटेका हुन्। लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको छ।

लुहारले आफैँले बञ्चरो प्रहार गरी आफ्नै खुट्टा काटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काटिएको खुट्टासहित लुहारलाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगेको छ।

लुहार अहिले होसमै रहेको प्रहरीले बताएको छ। लुहारको मानसिक स्थिति ठिक नभएको स्थानीय बासिन्दाको भनाइ रहेको छ। लुहारकी पत्नी धेरै दिनदेखि २ छोरीसहित माइतमा बस्दै आएकी छन्। माइतमा पत्नीसँग झगडा गरेर घर फर्केका उनले खुट्टा छिनालेका हुन्।