जेठ ३१ मा भित्रिने मनसुन, १८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने
काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ मा मनसुनमा हुने अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले मनसुनजन्य विपद्बाट यो वर्ष १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताएका छन् ।मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपद्बाट प्रभावित हुने प्राधिकरणले अनुमान गरेको छ ।
कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत आवश्यक पर्ने जनाएको छ ।
यस्तै, मधेश प्रदेशमा २० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र चार हजारभन्दा बढी घरपरिवारलाई उद्धार तथा राहत आवश्यक पर्ने, बागमतीमा सात हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र एक हजार पाँच सय घरपरिवारलाई राहत तथा उद्धार आवश्यक हुने पूर्वानुनुमान गरिएको छ । लुम्बिनी प्रदेशमा १५ हजार पाँच सय, सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय र सुदूरपश्चिममा करिब एक हजार पाँच सय घरपरिवार मनसुनबाट प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान छ ।
थर्ड पोल 