जमिन भासिँदा हराएको गाडी अझै भेटिएन, पाँचौ दिनमा भूगर्भविद्ले थाले अध्ययन
काठमाडौं । हेटौंडामा शुक्रबार जमिन भासिएर हराएको गाडी अहिलेसम्म पनि फेला परेको छैन । गुड्दागुड्दै सडक भासिएपछि बोलेरो भ्यानका चालक र सहचालक निस्किएर ज्यान जोगाउन सफल भएका थिए । गाडी भासिएको खाल्डोमा पानी सुकाएर खोजी गरिएको थियो । बाँस डुबाएर गाडीको पत्ता लगाउन खोजिए पनि फेला पार्न नसकिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
वेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ । जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । भूगर्भविद अधिकारीका अनुसार घटना स्थलको भू–बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन केन्द्रित हुने छ ।
घटनास्थलको माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने अधिकारीले जानकारी दिएका छन् । प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र अन्य पदार्थको अवस्था सम्बन्धी अध्ययन गरिने छ ।
आइतबार उक्त घटनाका बारेमा हेटौंडा उपमहानगरपालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसमेतको सहभागितामा समितिको बैठक बसेको हो । बैठकले भूगर्भविद्लाई ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी गर्ने निर्णय गरेको थियो ।
थर्ड पोल 