ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !

ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !

अन्तर्राष्ट्रिय व्यापार प्रणाली बिग्रिएको छ । यसलाई डोनाल्ड ट्रम्पको ‘रेसिप्रोकल ट्यारिफ’ अर्थात् पारस्परिक भन्सार सिद्धान्तले सपार्छ । विश्व अर्थतन्त्रमा यस्तो खालको पुनर्संरचना लामो समयदेखि थाँती थियो । यसले अमेरिका विरुद्ध धाँधली गरिएको प्रणालीलाई निष्पक्ष र सन्तुलित बनाएर विश्वभरका अर्थतन्त्रहरू सबैलाई थप मजबुत र समृद्ध बनाउँछ ।

दशकौँदेखि अन्तर्राष्ट्रिय व्यापार संगठन (डब्ल्युटीओ) का पक्षपातपूर्ण नियमहरूका कारण अमेरिकाले आफ्ना मुख्य व्यापार साझेदारहरूबाट प्रणालीगत रूपमै उच्च दरका भन्सार महसुल तथा गैर–भन्सार अवरोधको सामना गर्नु परेको छ । फलस्वरुप अमेरिकाले आफ्नो आर्थिक समृद्धि र राष्ट्रिय सुरक्षामा खतरा पर्ने गरी राष्ट्रिय आपतकालको सामना गर्नु परेको छ ।

यो सङ्कटको केन्द्रमा वार्षिक रूपमा ११ ट्रिलियन अमेरिकी डलरसम्म पुगेको व्यापार घाटा छ । व्यापार असन्तुलनलाई सधैँ वैदेशिक मुद्रा विनिमय दरमार्फत मूल्य समायोजन गरेर हटाउन सकिन्छ भन्ने खुला बजारको आर्थिक मोडेल पूर्णतः गलत साबित भएको छ ।

अमेरिकामा पीडादायी व्यापार घाटा हुन थालेको सन् १९७६ देखि हो । त्यस यता अहिलेसम्म नै प्रत्येक वर्ष यस्तो व्यापार घाटा थपिँदै आएको छ । यसले करिब २० ट्रिलियन अमेरिकी डलर विदेशीहरूको हातमा पुर्‍याएको छ । यो अमेरिकी कुल गार्हस्थ्य उत्पादनको करिब ६० प्रतिशत हो । अमेरिकाको ठुलो कृषि भूमि, आवास, प्रविधि कम्पनीहरू तथा यहाँसम्म कि हाम्रो खाद्य आपूर्तिसमेत विदेशी स्वार्थमा जकडिन पुगेको छ ।