देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता, के भयो कुराकानी ?
सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल भएको प्रचण्डले जानकारी दिए । निर्वाचन नहुने हल्ला चल्न थालेपछि आफूहरूले त्यसबारे प्रधानमन्त्रीलाई जिज्ञासा राखेको उनले बताए ।
जवाफमा प्रधानमन्त्री देउवाले भोट खसाल्ने बेलासम्म यस्ता हल्ला चलिरहने भएकाले हल्लाको पछि नलाग्न आग्रह गरेको प्रचण्डको भनाइ छ । “हामी निर्वाचनका लागि पूरै तयारी गरिरहेका छौँ । निर्वाचन नहुने हल्ला चलिरहेको छ । के हो त प्रधानमन्त्रीज्यू भनेर हामीले सोध्यौँ,” उनले भने, “चुनावको दिनसम्म हल्ला चलिरहन्छ । भोट हाल्ने दिन पनि भोट हाल्न पाइन्छ कि पाइन्न भन्ने हल्ला चलिरहन्छ । नेपाल यस्तै हो, प्रधानमन्त्रीले भन्नुभयो ।”