एमालेको पोलिटब्युरो बैठक सुरु, निर्वाचन आयोगलाई ओलीको प्रश्नै प्रश्न

एमालेको पोलिटब्युरो बैठक सुरु, निर्वाचन आयोगलाई ओलीको प्रश्नै प्रश्न

नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक बसेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि दुई दिन मनोनयनको समय राखेको भन्दै आपत्ति जनाएका छन्।

उनले यसबारे निर्वाचन आयोगसँग प्रश्न गरेका छन्। एमालेको पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले सवै राजनीतिक दलहरुसँग छलफल गर्ने भन्दा गठबन्धनसँग मात्र छलफल गरेर निर्णय गर्ने गरेको आरोप लगाए। 

उनले एमालेको दल विभाजन गरेर नयाँ दल दर्ता गर्नेदेखि मतपत्रको रंग र निर्वाचनको कार्यतालिकामा समेत यस्तो भएको आरोप लगाए । मतपत्रमा चुनाव चिह्नको  रङ बदल्ने कुरा गठबन्धनसँग भित्रि परामर्श गरेर राखिएको ओलीको दाबी थियो। 

रङको कारण चुनाव चिह्न चिनिएन भनेर गुनासो नआएकाले रङ बदलेर हरियो चै किन राख्न परेको भन्दै उनले प्रश्न गरे। ‘निर्वाचन चिह्न हरियो रुख नै किन राखेको हो ’ उनले भने ‘सूर्य कसरी हरियो हुनसक्छ। रुखको चिह्न जस्तो छ हामीले पनि उस्तै गर्नुपर्ने कुरा साँठगाँठ नभए के हो त ?’ उनले निर्वाचन आयोगमाथि प्रश्न गरे । 

‘२ दिन मनोनय किन राखियो ? यो केका लागि हो’ उनले भने ‘कहि पनि २ दिन राखिँदैन । राख्न पर्ने थिएन। एकै दिन राखे हुन्थ्यो।’  उनले यस पटक आँखा अगाडी मत पेटिका हुनुपर्ने भन्दै गणना गर्दा पनि कसैमाथि पनि विश्वास नगर्ने बताउँदै कार्यकर्तालाई ख्याल राख्न निर्देशन दिए।

‘निर्वाचन अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था किन राखियो’ उनले भने ‘कार्यकारी पद रिक्त गर्ने प्रचलन हुन्छ कि हुँदैन भनेर हेर्दा रिक्त राखिँदैन । यो पनि एक तहको सरकार हो। केन्द्रिय र प्रदेशको सरकार कायम रहेन अनि स्थानीय तहको सरकार मात्र कायम रहनु हुँदैन भन्नु सोझैं नियोजित हो।’