भिजिट भिजाकाण्ड: संसदमा विपक्षी दलहरुले के गरे ?

भिजिट भिजाकाण्ड: संसदमा विपक्षी दलहरुले के गरे ?

काठमाडौं – प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी सांसदहरू उठेर अवरोधमा उत्रिएका थिए। सभामुख देवराज घिमिरेले बैठकको कारबाही प्रारम्भ भएको घोषणा गरेलगत्तै सांसदहरू विरोधमा उभिएका थिए। त्यसक्रममा सभामुखले प्रमुख प्रतिपक्षी दलका नेता वर्षमान पुनलाई बोल्न समय दिएका थिए।

पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं रुपैयाँ असुलेर मानव तस्करी भइरहेको विषय सञ्चारमाध्यममार्फत मात्र नभई घरघरमा पनि चर्चा भइरहेको उल्लेख गरे।

उनले यस्ता गम्भीर आरोपको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने माग राखे। पुनको भनाइमा, गृहमन्त्री पदमा रहँदा निष्पक्ष छानबिन हुन नसक्ने भएकाले राजीनामामार्फत मार्ग प्रशस्त गर्नुपर्ने स्पष्ट थियो। उनले राजीनामा नआएसम्म संसद् सञ्चालन हुन नसक्ने चेतावनी पनि दिए।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले पदबाट हट्नुपर्ने बताए। गृहमन्त्रीकै पदमा रहेर छानबिन गर्नु नै निष्पक्षताको विरोध हुने उनको तर्क थियो।