महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
काठमाडौं । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । महालेखा परीक्षक तोयम रायाले आज शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।
सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ भने ।‘बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु’, उनले भने ।
राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे ।यस प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालाहरुलाई अझ बढी जवाफदेहीताबोध गराउने उनको भनाइ थियो ।
‘सरकारी खर्च रकमको बढ्दो बेरूजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम राख्ने कार्यमा महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फसमेत कार्यालय अझ क्रियाशिल हुनुपर्ने ठान्दछु’, राष्ट्रपति पौडेलले भने ।
थर्ड पोल 