स्थानीय निर्वाचन ३० वैशाखमै हुनेमा माधव नेपालको आशंका
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावप्रति आशंका व्यक्त गरेका छन् । सबै जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा भइनसकेकाले बीचमै चुनाव स्थगन हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।
‘वैशाख ३० मा स्थानीय चुनाव हुने भनेर निर्वाचन आयोगले आचारसंहिता जारी गरिसक्यो । समस्या त छ, जेठमा पहिलो, असारमा दोस्रो र असोजमा तेस्रो चरणको चुनाव भएको थियो । असोजमा चुनाव भएकाको पाँच वर्ष पुगेको छैन, त्यसको जवाफ कसले दिने ?’ एकीकृत समाजवादीको दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलामा नेपालले भने, ‘त्यसकारण कानुनमा त्रुटि छ, संवैधानिक अधिकारको हरण भएको छ । असोज महिनामा पाँच वर्ष पुग्नेको भावनाविपरीत चुनावको निर्णय भएको छ ।’
स्थानीय जनप्रतिनिधिको कार्यकाल पूरा नभएको विषयमा सर्वोच्च अदालतमा परेको रिटसम्बन्धी मुद्दा विचाराधीन छ । त्यसलाई लक्षित गर्दै नेपालले अदालतबाट रिटकै पक्षमा फैसला हुन सक्ने आशंका गरेका हुन् । यद्यपि, नेपालले अदालतबाट विचाराधीन मुद्दामा जुनसुकै फैसला आए पनि अहिलेलाई द्विविधा नराखी चुनावी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘भोलि जे होला होला, अहिले हामी तयारी गर्छौं । अहिले हामी ३० वैशाखकै चुनावको तयारीमा जुटौँ । मान्छेले के हुन्छ, के हुन्छ भन्छन्, म भन्छु, जे हुन्छ–हुन्छ, अहिले तयारीमा जुटौँ,’ नेपालले भने । त्यस्तै, एकीकृत समाजवादी काठमाडौंले भृकुटीमण्डपमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेपालले आँट र साहसका साथ निर्वाचन तयारीमा अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
