राष्ट्रसंघका महासचिवले भने – ‘‘ईरानमाथि अमेरिकी आक्रमण विश्वकै लागि विनाशकारी परिणामको सुरुवात, म धेरै चिन्तित छु’

राष्ट्रसंघका महासचिवले भने – ‘‘ईरानमाथि अमेरिकी आक्रमण विश्वकै लागि विनाशकारी परिणामको सुरुवात, म धेरै चिन्तित छु’


काठमाडौं । संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा अमेरिकाको ईरानमाथिको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाद्वारा इरानमाथि गरिएको आक्रमणलाई खतरनाक तनाववृद्धि भन्दै यो आक्रमण विश्वकै लागि विनाशकारी परिणामको सुरुवात भएको टिप्पणी गरेका छन् । 

गुटेरेसले खाडी क्षेत्रमा जारी द्वन्द्व चाँडै नियन्त्रणबाहिर जाने चेतावनी समेत दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘आज संयुक्त राज्य अमेरिकाद्वारा इरानमाथि गरिएको बल प्रयोगप्रति म गम्भीर रूपमा चिन्तित छु । यो आक्रमण तनावग्रस्त क्षेत्रमा खतरनाक स्तरको वृद्धि हो र यसले अन्तराष्ट्रिय शान्ति र सुरक्षामाथि प्रत्यक्ष खतरा निम्त्याउँछ ।’

यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जाने खतरा बढ्दै गएको भन्दै भने ‘सर्वसाधारण, समग्र क्षेत्र र विश्वकै लागि विनाशकारी परिणाम ल्याउन सक्छ । म सदस्य राष्ट्रहरूलाई तनाव घटाउने र संयुक्त राष्ट्रसंघको चार्टर तथा अन्तराष्ट्रिय कानुनअनुसारको दायित्व निर्वाह गर्न आह्वान गर्दछु ।’ उनले एकमात्र आशा शान्ति भएको र त्यसका लागि कूटनीति नै जरुरी भएको भन्दै सैन्य बल नदेखाउन पनि आग्रह गरे ।