एमाले काठमाडौं महानगरको घोषणापत्रः वृद्धभत्ता १८ हजार पुर्याइने
नेकपा एमालले काठमाडौं महानगरको चुनावी प्रतिबद्धतापत्र तीन भाषामा सार्वजनिक गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो। एमालेले नेपाली, नेपालभाषा र अंग्रेजी भाषामा आफ्नो प्रतबद्धतापत्र सार्वजनिक गरेको हो।
उक्त प्रतिवद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा प्रतिवद्धता पत्र तयार गरेको महानगर कमिटीले जानकारी दिएको छ।
नेपालमा भएका सबै भाषाहरूप्रति सम्मान प्रकट गर्नुका साथै तत्तत् भाषामै प्रतिवद्धतापत्र प्रकाशित गर्दा सम्प्रेषणीय हुने भएकोले नेकपा एमाले काठमाडौँ महानगर कमिटीले स्थानीय भाषामा पनि प्रतिवद्धतापत्र सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख एवं नेकपा एमाले केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले जानकारी दिए।
नेकपा एमालेले काठमाडौं महानगरका लागि जारी गरेको प्रतिवद्धता पत्रमा जम्मा १०८ बुँदा छन्। यसमा काठमाडौंको सम्पदा, पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन आदि जस्ता विषयकेन्द्रित बुँदाहरू रहेका छन्। १ सय ८ बुँदाको सार्वजनिक प्रतिवद्धता–पत्रमा नेकपा एमाले नेतृत्वका जनप्रतिनिधीहरुको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिहरुको तर्जुमा, सडक तथा ढलहरुको नियमित मर्मत सम्भार, स्तरोन्नति तथा विस्तार, २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाहरुको जीर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाहरुको जगेर्र्ना जस्ता कार्य अघि बढेको उल्लेख छ।
