शिक्षक महासंघले प्रधानमन्त्रीसँगको भेटपछि भन्यो- आन्दोलन जारी रहन्छ लेनदेन गरी फर्किन आएका होइनौं ,

शिक्षक महासंघले प्रधानमन्त्रीसँगको भेटपछि  भन्यो- आन्दोलन जारी रहन्छ लेनदेन गरी फर्किन आएका होइनौं ,

नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने भएको छ।

शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घन्टा र सभामुख देवराज घिमिरेसँग समेत शिक्षक महासंघका पदाधिकारीहरुले छलफल गरेका थिए।

छलफलमा शिक्षकहरुको काठमाडौंकेन्द्रित आन्दोलन, उनीहरुका माग र विद्यालयल शिक्षा विधेयक जारी गर्ने विषयमा छलफल भएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्।

यद्यपि आन्दोलन भने नरोकिने उनले बताएका छन्। ‘समग्र परिस्थितिको मूल्याङकन गर्दा हामीले अझै  आन्दोलनको मोर्चा डटीरहनु पर्ने अवस्था छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

अध्यक्ष सुवेदीले सदाझैं दिउँसो १२ बजे माइतीघर मण्डलमा शिक्षकहरूलाई उपस्थित हुन आग्रह गरेका छन्।

सुवेदीले विगतका सहमति सम्बोधन हुनुपर्ने र अग्रगामी ऐन नै आफूहरूको लक्ष्य रहेको बताएका छन्।

‘हामी एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौं,’ उनले भनेका छन्।

शनिबारको विरोध सभामै प्रधानमन्त्री र सभामुखसँग भएको भेटबारे सबै कुरा राखिने र समग्र परिस्थिती मूल्यांकनका लागि तहगत छलफल गरिने अध्यक्ष सुवेदीले जानकारी दिएका छन्।

उनले सबैलाई मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनमा डटिरहन आग्रह गरेका छन्।

‘हामीले हिजोका दिनमा जे जे पाएका हौं आन्दोलनको बलमा नै पाएका हौं । अब पनि जे पाउने छौं, त्यो आन्दोलनकै बलमा पाउनै छौं । यो सत्यलाई हृदयंगम गरौं,’ अध्यक्ष सुवेदीले फेसबुकमा लेखेका छन्।

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्ने लगायत माग राखेर महासंघको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।