सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्छ–धनराज गुरुङ
काठमाडौं, २ जेठ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताएका छन् ।
आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।
गुरुङले भने – ‘हामीले धेरै लामो यात्रा गरिसकेका छौँ । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आएर हामीले शान्ति प्रक्रियालाई अगाडी बढाउँदै सेना समायोजन गरिसकेको, संविधान समेत लेखिसकेको । अब रह्यो हात्ती छिर्यो, पुच्छर अड्क्यो भन्ने सुन्ने गर्थ्यौ, त्यस्तै भएको छ । यत्रो काम गर्दै अघि बढ्यौँ तर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सकेनौँ । हामीलाई यो अर्जेन्सी पनि छ वास्तवमा ।
सारा दुनियाँले हेरिरहेको छ नेपालीहरू आफैँ यत्रो शान्ति प्रक्रियामा अगाडी बढिराखेको छ । आफैले संविधान पनि लेखन पनि गरो । सेना समायोजन आफैले गर्यो । अब शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सक्छ कि सक्दैन भनेर दुनियाँको नजर हामी प्रति छ ।
यति धेरै महत्त्वपूर्ण विषयमा समितिले यसको अर्जेन्सीलाई निश्चित रूपमा बुझ्नु भएकै छ । यसलाई छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडी बढाउनु हुने नै छ भन्ने मेरो विश्वास छ । मनि लाउन्ड्रिङको विधेयकमा पनि संशोधन आएको छ । हामीले समयमै टुंगो लगाउन सकेनौँ भने दुनियाँकै अगाडी लज्जित हुनुपर्ने अवस्था छ ।’
मन्त्री गुरुङले समितिले दिने निर्देशनलाई नेपाल सरकारले अङ्गीकार गर्ने बताए । त्यसैगरी बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद सुवासचन्द्र नेम्वाङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु, अदालतको फैसला र पीडितको कुरालाई मध्यनजर गर्दै अगाडी बढाउनुपर्ने बताएका छन् ।
थर्ड पोल 