सरकारले आईटी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आवश्यक छ : अध्यक्ष ढकाल

सरकारले आईटी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्नुपर्नेमा जोड दिए ।

उनले अनलाइनबाट कारोबार गरे त्यो पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने उल्लेख गर्दै यो ठूलो लगानीबिनै विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले थप प्राथमिकता दिनुपर्ने बताए । 

अध्यक्ष ढकालले भने, ‘आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसावले काम गर्ने वातावरण बन्छ । 

डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छाँै, केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।’यस्तै उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ सरकारले लिएका प्रति खुशी व्यक्त गर्दै त्यो महत्वपूर्ण भएको समेत बताए ।