हत्यापछि इनारमा फोलेको शव २१ बर्षीया वसन्तीको, प्रेमी राकेश पक्राउ

हत्यापछि इनारमा फोलेको शव २१ बर्षीया वसन्तीको, प्रेमी राकेश पक्राउ

बाँकेमा धारिलो हतियार प्रहार गरी आफ्नै प्रेमिकाको विभत्स हत्या गरेको आरोपमा प्रेमी पक्राउ परेका छन्। 

एकमहिना अघि जिल्लाको डुडुवा गाउँपालिका–३ बनकट्टीकी २१ वर्षीया वसन्ती गोडियाको शव पुरानो र प्रयोगविहीन इनारभित्र फेला परेको थियो।

वसन्तीको हत्या सोही गाउँका २५ वर्षीय राकेश वर्माले गरेको अनुसन्धानबाट खुलेपछि प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार प्रहरी हिरासतमा रहेका राकेशले घटना स्वीकार गरिसकेका छन्।

अनुसन्धानबाट वसन्तीको हत्या पुस १ गते भएको खुल्न आएको छ। सडेगलेको अवस्थामा माघ १ गते भेटिएको शव प्रहरीले इनारबाट निकालेर पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पुर्‍याएको थियो।

पोस्टमार्टम रिपोर्टले वसन्तीको टाउको र घाँटीमा धारिलो हतियार प्रहारबाट भएको रिपोर्ट सार्वजनिक भएपछि घटना अनुसन्धानमा जिल्ला प्रहरी प्रमुख एसपी अङ्गुर जिसी आफैँ पनि खटिएका थिए। शव सडेगलेको अवस्थामा फेला परेको हुँदा सुरूमा हत्या गरिएकी युवतीको पहिचान गर्न प्रहरीलाई समय लागेको थियो। स्थानीयले प्रहरीसमक्ष गाउँकी कुनै पनि युवती वा महिला हराएको भन्ने जानकारीसम्म दिन सकेका थिएनन्। तर, गाउँकै वसन्ती महिना दिनअघि भारतको नानपारास्थित मामा घरमा गएको हुँदा गाउँमा नरहेको कुरा स्थानीयले गरेका थिए। त्यसपछि प्रहरीले नानपारामा बस्ने वसन्तीका मामा रामजेश गोडियासँग सम्पर्क गर्दा उनी त्यहाँ नपुगेको भन्ने तथ्य पत्ता लगाएको थियो।