हामी कसैको बैशाखी टेकेर होइन,आफ्नै बलमा पहिलो पार्टी बन्छौं : प्रचण्ड

हामी कसैको बैशाखी टेकेर होइन,आफ्नै बलमा पहिलो पार्टी बन्छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि आफूहरु पहिलो शक्ति बन्ने दाबी गरेका छन्।  कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले माओवादी आफ्नै बलमा पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। 

‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ‚’ अध्यक्ष प्रचण्डले भने, ‘वडादेखि नै गठबन्धन होला र जितौँला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरूसँग गठबन्धन गर्नेमा केही छलफल हुँदैछ।’ उनले अरू पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्ने धारणा राखे। प्रचण्डले भने‚ ‘हामी कसैको बैशाखी टेक्ने होइन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन्।’

उनले जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै आफूहरू नै पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे। ‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए। तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ उनले भने, ‘०६४ को परिणाम हाम्राअगाडि छ। अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौँ।’