८१ जना केन्द्रीय सदस्य मनोनीत गरेर बहुमत देखाउन माधवलाई अर्यालको चुनौती

८१ जना केन्द्रीय सदस्य मनोनीत गरेर बहुमत देखाउन माधवलाई अर्यालको चुनौती

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकताको अन्तिम तयारी गरिरहेका बेला असन्तुष्ट पक्षका नेताहरू सामाजिक सञ्जालमार्फत धमाधम विरोध गर्न थालेका छन् ।

सो पार्टीको आज सकिने केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी लगायत विचार मिल्ने पार्टीसँग एकता गर्ने प्रस्ताव पारित गर्दैछ ।

त्यसअघि नेताहरू दामोदर अर्याल, रामकुमारी झाँक्री लगायतले सामाजिक सञ्जालमा अध्यक्ष नेपालको चर्को विरोध गरेका हुन् । प्रचार विभाग उपप्रमुख समेत रहेका अर्यालले शुक्रबार बिहान अध्यक्षले विधान विपरीत ८१ जना केन्द्रीय सदस्य मनोनीत गरेर बहुमत देखाउन खोजेको बताएका छन् ।

‘मनोनीत गर्दै जानुहोस् ! बहुमत सिद्ध गर्दै जानुहोस् !’, अर्यालले लेखेका छन्, ‘तर याद गर्नोस्,कमरेड ! तपाईंको 'कमिटी बहुमतले' समाजको बहुमत सिद्ध गर्दैन । समाजमा हामी निरन्तर अल्पमतमा पर्दै गइरहेका छौँ ।’

यस्तै अर्को एक फेसबुक पोस्टमा उनले माओवादीसँग एकता गर्नु भनेको वाम एकता नभई अभियुक्त एकता हुने समेत जिकिर गरेका छन् । 

उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्ड सम्पत्ति शुद्धीकरण छानबिनमा पर्नुभएको छ । उपाध्यक्ष पासाङ सुन तस्करी छानबिनमा हुनुहुन्छ । अर्का उपाध्यक्ष महरा सुन तस्करी आरोपमा जेलमा हुनुहुन्छ । प्रवक्ता अग्निजी (अग्नि प्रसाद सापकोटा) ज्यान मुद्दामा तारेख खेपिरहनु भएको छ । त्यसकारण यतिखेर माओवादीसँग एकता गर्नु भनेको वाम एकता होइन, अभियुक्त एकता हुन्छ ।’