ब्याजदर घटेपछि परियोजना र व्यापार व्यवसायको लागत कम हुने–अर्थमन्त्री महत

ब्याजदर घटेपछि परियोजना र व्यापार व्यवसायको लागत कम हुने–अर्थमन्त्री महत

काठमाडौं, बैशाख २६ गते । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८०–८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको आज जवाफ दिंदै अर्थमन्त्री महतले सरकारले बजेटमार्फत अनावश्यक खर्च घटाउने, नचाहिने संरचनाहरु हटाउने र पूँजीगत खर्च बढाउने भन्दै राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा आफू विश्वस्त रहेको दोहोर्‍याए ।

ब्याजदर घटाएर वित्तीय लागत कम गर्ने र सरकारी खर्च बढाएर अर्थतन्त्र चलायमान गराउने सरकारको योजना रहेको डा। महतले सुनाए । ‘व्यापार व्यवसायमा ब्याजदर बढेका कारण नाफा भइरहेको छैन, नयाँ ऋण लिन खोज्नेहरु पोसाउँदैनन् । बैंकिङ क्षेत्रबाट पूँजी परिचालन गर्ने वातावरण बनाउन मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र त्यसले ब्याजदर घट्छ ।’

ब्याजदर घटेपछि परियोजना र व्यापार व्यवसायको लागत कम हुने महतको भनाइ छ । त्यसले व्यापार व्यवसाय वृद्धि हुने, रोजगारीको अवसर पनि बढ्ने अर्थमन्त्रीको अपेक्षा छ । महतले ब्याजदर घटाउनासाथ राजस्वको आधार फराकिलो हुने बताए । यसकै आधारबाट आगामी बजेटको लक्ष्य निर्धारण हुने पनि उनले बताए ।