पीएनजीद्वारा नेपाललाई २ सय ९३ रनको लक्ष्य

पीएनजीद्वारा नेपाललाई २ सय ९३ रनको लक्ष्य

पुपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार जितका लागि २९३ रनको लक्ष्य पाएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायो । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नोर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

एकदिवसीयमा यो पीएनजीको अहिलेसम्मकै ठूलो योगफल हो । यसअघि पीएनजीले हङकङसँगको एकदिवसीय क्रिकेटमा सन् २०१४ मा दुई सय ६४ रनको सर्वाधिक ठूलो योगफल बनाएको थियो ।

त्यस्तै पीएनजी नेपालसँगको खेलमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । यसअघि सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको तेस्रो एकदिवसीय खेलमा दुई सय ५४ रन बनाएको थियो जुन नेपालले एकदिवसीयमा पाएको सर्वाधिक ठूलो लक्ष्य थियो । यद्यपि नेपालले पारस खड्काको एक सय १५ रनको सहयोगमा नेपालले त्यो लक्ष्य पूरा गरेको थियो । यो नै नेपालले एकदिवसीयमा पूरा गरेको र बनाएको अहिलेसम्मको सर्वाधिक ठूलो योगफल थियो ।