ललितपुर उ.वा. संघको निर्वाचनः युवा उद्यमी बज्राचार्य र श्रेष्ठद्वारा उम्मेदवारीको घोषणा 

ललितपुर उ.वा. संघको निर्वाचनः युवा उद्यमी बज्राचार्य र श्रेष्ठद्वारा उम्मेदवारीको घोषणा 

काठमाडौ, ७ भदौ । युवा उद्यमी विश्वराज बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघको आसन्न ४४औं साधारणसभा तथा अधिवेशनमा हुने संघको निर्वाचनको लागि  अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उद्यमी बज्राचार्य संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमुलस्थित यल दरबारमा संघको साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुनेछ ।

एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी सफतलापूर्वक निर्वाह गरिसकेका बज्राचार्य सोसल इन्टरप्रेनरको रुपमा पनि परिचित छन् ।

व्यावसायिक नेतृत्व विकास र ब्यवसायिक इमान्दारितालाई आफ्नो मुख्य ऐजेण्डा बनाएर अघि बढेका बज्राचार्यले राज्य ब्यवस्थाले कायम गरेका नीति–नियम, कानूनी प्रावधानलाई लागू तथा सुधार गर्दै ब्यवसायिक एकतामा जोड दिएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणासँगै बज्राचार्यले वर्तमान कार्यसमितिले सुरु गरेका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।

त्यस्तै वर्तमान संस्थागत उपाध्यक्ष तथा ललितपुर जिल्लाका सुपरिचित ब्यवसायी वीरेन्द्रलाल श्रेष्ठले बज्राचार्यकै समूहबाट संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एक कार्यकाल कार्यसमितिको संस्थागत सदस्य र संस्थागत उपाध्यक्षको जिम्मेवारीको दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिरहेका छन् ।