पर्सामा निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु

पर्सामा निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को छनोट प्रक्रिया सुरु भएको छ । जिल्लाभरबाट आवेदन दिएका उम्मेदवारहरूको आजदेखि वीरगञ्जस्थित नारायणी रङ्गशालामा शारीरिक परीक्षण तथा अन्य छनोटका कामहरू अगाडि बढाइएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका संयोजक सुमनकुमार कार्कीले आज बिहानैदेखि छनोट प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार यस पटक निर्वाचन प्रहरीमा सहभागी हुन चाहनेहरूको उत्साहजनक उपस्थिति देखिएको छ । छनोट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र वस्तुपरक बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको प्रत्यक्ष निगरानी र सुपरीवेक्षण रहने व्यवस्था मिलाइएको छ ।