म्यानमारलाई विपद्मा अमेरिकाले दिएन सहयोग
काठमाडौं । म्यानमारमा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि चीन, रुस, भारतजस्ता देशले आपत्कालीन टोली र मानवीय सहायता सामग्री पठाएर सहयोग गरिरहेका छन् ।
संयुक्त राज्य अमेरिकाले अझै महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको छैन । यसअघिका यस्ता विपद्मा अमेरिकाले नेतृत्वदायी भूमिका खेल्दै सबैभन्दा धेरै सहयोग गर्ने गरेको थियो ।
म्यानमारको घनाबस्ती भएको मध्यक्षेत्रमा गएको भूकम्पमा परी १७ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । देशको सैन्य सरकारले मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ ।
यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग पठाइँदै छ भनेर आश्वासन पनि दिए । ट्रम्पको उक्त भनाइका बाबजुद अमेरिकाले सहयोग प्रदान गर्न तदारुकता देखाएको छैन ।
थर्ड पोल 