हाम्रो पार्टी विस्तार देखेर बैरीहरु आत्तिन थालेः माधव नेपाल

हाम्रो पार्टी विस्तार देखेर बैरीहरु आत्तिन थालेः माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेको बताएका छन् । पार्टी निकट महिलाको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी दिनदिनै फैलिँदै गएको बताए। 

‘६ महिनाभित्र कुनै पनि पार्टीले यत्रो आकार ग्रहण गर्न सकेको छैन। हाम्रो पार्टी दिनप्रतिदिन फैलिँदै गएको छ । हाम्रो पार्टीको विस्तार देखेर बैरीहरु आत्तिएका छन्।’ एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘उनीहरु मानसिक सन्तुलन गुमाउन थालेका छन्। जब मानसिक सन्तुलन गुम्छ तब बर्बराउन थाल्छन्।’ 

उनले एमालेले आफ्ना मन्त्रीहरु एमालेमा फर्किन लागेको भनेर कुप्रचार गरेको बताए। ‘हाम्रा मन्त्रीहरु प्रेम आले र कृष्णकुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगेर एमाले सहभागी हुने समाचार आयो।’ उनले भने, के हो कमरेडरु भनेर तारन्तर फोन आउन थाल्यो, अब त्यो भ्रम पनि छैन। हुँदै नभएको हल्ला मच्चाउने काम एमालेले गर्‍यो।’