वाणिज्य बैंकहरुले आठ महिनामा कमाए ४२ अर्ब नाफा, कुनको कति नाफा ?
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरूले कुल ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार गत माघ मसान्तसम्मको तुलनामा नाफा ६ अर्ब १८ करोड ५० लाख रुपैयाँ बढी हो ।
सोही तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । जसले आठ महिनामा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यस्तै आठ महिनामा धेरै नाफा आर्जन गर्ने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले सो अवधिमा ३ अर्ब ४३ अर्ब रूपैयाँ खुद नाफा कमाएको हो ।
प्राइम कमर्सियल बैंक तेस्रो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा बैंकले कुल २ अर्ब ८८ करोड ७८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यस्तै २ अर्ब ८७ करोड ७६ लाख रूपैयाँ खुद नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा परे ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले २ अर्ब ८० करोड रूपैयाँ, एनआइसी एशियाले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ८ करोड ९६ लाख र कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।
यसैगरी हिमालयन बैंक, एनएमबि, लक्ष्मी सनराइज, सिद्धार्थ, सानिमा र प्रभु बैंकले क्रमशः १ अर्ब ९४ करोड ८३ लाख, १ अर्ब ९२ करोड ५२ लाख, १ अर्ब ८२ करोड ६ लाख, १ अर्ब ६९ करोड ६५ लाख, १ अर्ब ६६ करोड ४८ लाख र १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । साथै कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख, सिटिजन्सले १ अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख र नेपाल एसबिआईले १ अर्ब ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।
थर्ड पोल 