सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने

सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने

 नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीको औपचारिक धारणा बनाउने भएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले याे निष्कर्ष निकालेको हो । सहमहामन्त्री जीवन परियारका अनुसार पार्टी सरकारमै रहेकाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन र के आधारमा गरिएको हो भन्नेबारेमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीले औपचारिक धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्न नभएर दर्ता प्रक्रियाका लागि मात्रै सरकारले निर्णय गरेको कुरा आफूलाई जानकारीमा रहेको बताउनुभएको थियो ।

बैठकमा कांग्रेस महामन्त्री गगन थापासहित धेरैजसो नेताहरूले सामाजिक सञ्जाललाई कानून बनाएर मात्रै नियमन गर्नुपर्नेमा निर्देशिकामा टेकेर काम गर्न खोज्दा अप्ठ्यारो परेको बताउनुभएको छ ।महामन्त्री थापाले सहजै यो विषय टुङ्गिने अवस्थामा नभएकाले पार्टीले यसबारेमा प्रष्ट लाइन लिनुपर्ने बताउनुभयाे ।