१४ वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजरदर

१४ वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजरदर


काठमाडौं, कार्तिक १ गते । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि अधिकांश निक्षेपको ब्याजरदर घटाएका छन् । साउन, भदौ र असोजमा ब्याजदर बढाउँदै आएका अधिकांश बैंकहरूले कात्तिकका लागि भने घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले १ कात्तिकदेखि लागू हुने गरेर ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैकहरूले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत १०.२६ प्रतिशत र संस्थागत निक्षेपमा औसत ८.१८ प्रतिशत ब्याजदर दिएका थिए । कात्तिकमा भने व्यक्तिगत निक्षेपमा औसत ९.९६ प्रतिशत र संस्थागत निक्षेपमा औसत ७.८५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

नेपाल बैंकर्स संघबाट ब्याजदरमा हुँदै आएको भद्र सहमतिको अभ्यास भंग भएपछि साउनदेखि आफ्नै ढंगले ब्याजदर निर्धारण हुँदै आएको छ । कात्तिकमा १४ बैंकले ब्याजदर घटाएका छन् भने चारवटाले यथावत् राखेका छन् । दुई वाणिज्य बैंकले सामान्य मात्रामा ब्याजदर बढाएका छन् ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बजारको अवस्थाअनुसार ब्याजदर घटाएको बताए । सरकारले केही समयअघि मात्रै बैंकहरूलाई स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिएको छ ।

अन्य विभिन्न कारणले असोजमा मात्रै वाणिज्य बैंकहरूमा एक खर्ब २० अर्ब निक्षेप थपिएको छ । तर, त्यसको तुलनामा कर्जाको माग बढेको छैन । असोजमा १२० अर्ब निक्षेप थपिँदा कर्जा ४६ अर्ब मात्रै प्रवाह भएको छ । त्यो कर्जा पनि दसैँ–तिहारजस्ता चाडपर्वका कारण प्रवाह भएको देखिन्छ । समग्रमा अझै पनि आवश्यकताअनुसार कर्जाको माग बढेको छैन ।